सार्वजनिक जग्गा अतिक्रमणले विकासमा अवरोध गरेको छः सांसद पन्थी

राजापानी सामुदायिक वनको २० औँ वार्षिक साधारण सभा


पालिका पत्र

३० आश्विन २०८०, मंगलवार १९:२६ मा प्रकाशित

असोज ३० ।
कपिलवस्तु बाणगंगाको विकासमा  सार्वजनिक जग्गामा भएको अतिक्रमणले अवरोध गरेको लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले बताएका छन् । उनले बाणगंगाका विभिन्न स्थानमा भएका सार्वजनिक जग्गा अतिक्रमणमा परेकाले जग्गा अभावले थुप्रै योजनाका काम हुन नसकेको बताए । उनले बाणगंगाको राजापानी सामुदायिक वनको २० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सांसद पन्थीले लुम्बिनी आएका बाह्य तथा आन्तरिक पर्यटक लाई तिलौराकोट, राजापानी, लक्ष्मणघाट, कपिलधाम लगायत जिल्लाका पर्यटकीय स्थलमा भुलाइ राख्नका लागि आवश्यक होटल, रेष्टुरेन्ट, मनोरञ्जन, खेलकुद लगायतका पूर्वाधार नहुदाँ पर्यटक प्रर्वद्धन हुन नसकेको बताएका छन् । उनले राजापानी सामुदायिक वन मात्र नभएर जिल्लाका सम्पूर्ण वनलाई अब व्यवस्थित तरिकाले प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । अझैपनि करोड सम्पत्ति भएका केही व्यक्तिहरूले वन तथा सार्वजनिक सम्पत्ति हडपेर बसेको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए । सार्वजनिक सम्पत्ति हडपेर बसेकै कारण पछिल्लो समय कपिलवस्तुमा डुबानको समस्या टड्कारो बनेको समेत उनले बताए ।


त्यस्तै जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले राजापानी लाई बाणगंगाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सके राजापानी बाट नै बाणगङ्गा र कपिलवस्तु लाई चिनाउन सकिने उनले बताए ।


त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवाका डिभिजनल वन अधिकृत विजयराज सुबेदीले पटना, राजापानी लगायत चोरी तस्करी बढी हुने बनहरुमा ड्रोन को प्रयोग गरेर बनको रेखदेख गर्ने बताए । विगतको तुलनामा धेरै चोरी तस्करीमा कमी भएपनि उक्त कार्यलाई निरुत्साहित बनाउन तिहार लगत्तै ड्रोन को प्रयोग गर्ने उनले बताए । त्यस्तै उनले बजेट ल्याउँदा वन उपभोक्ता समुहले निक्कै छलफल र बहस गरेर बजेट ल्याउनु पर्नेमा जोड दिए । कपिलवस्तुका एउटै बनमा ३/४ करोड बजेट रहेको भन्दै त्यसलाई सही रुपमा प्रयोग गर्न सके बन सँगै जिल्लाको समृद्धिको लागि समय नलाग्ने उनले बताए ।


त्यस्तै कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले नियम कानुनलाई पालना गर्दै नगर भित्र रहेका सम्पूर्ण साझेदारी तथा सामुदायिक वनले स्थानीय सरकार लाई १० प्रतिशत बजेट प्रदान गर्ने हो भने बाणगङ्गाको विकासमा थप टेवा पुग्ने बताए । बनहरुले विभिन्न विकास निर्माणका लागि बजेट खर्च गरेपनि उक्त बजेटलाई स्थानीय सरकार सँग समन्वय नगरी बजेट खर्च गर्नुले प्रभावकारी नदेखिको उनको तर्क थियो ।


कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोग सदस्य सरोज खनालले वनले राखेका योजना र कार्यक्रमहरू उत्कृष्ट नै रहेको भन्दै ति योजनालाई सफलता पूर्वक सम्पन्न गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।


कार्यक्रममा वनकी अध्यक्ष सीतादेवी पौडेलले राजापानी सामुदायिक वनलाई  पर्यापर्यटनको क्षेत्रमा विकास गर्दै, स्थानीय स्तरमा  रोजगारी,  स्वरोजगार र मनोरञ्जन प्रदान गर्ने लक्ष्य लिएको बताइन  । बनलाई भविष्यमा योजनाबद्ध ढंगले विकास गर्दै उपभोक्ताहरूको मागलाई समेत ध्यानमा राखी यसको गुरुयोजना निर्माणको कार्य सम्पन्न गरी सोही बमोजिमका क्रियाकलाप सञ्चालनको लागि डिपिआर तयार गर्ने काममा समेत जुटेको उनले बताएकी छन्  ।  बाल उद्यान निर्माण, बुद्ध मूर्ति स्थापना, आकर्षक फूलवाली निर्माण, ऐतिहासिक राजापानी मूल संरक्षण, सुविधा सम्पन्न बनभोज स्थल, माछापालन एवं जलसयरका लागि पोखरी निर्माण, आन्तरिक सजावट, फ्रि वाई फाई जोन, सौर्यबत्ती जडान, सिसि क्यामरा जडान, जोखिममा परेका वन्यजन्तुहरूको संरक्षणका लागि संरक्षण केन्द्र स्थापना, जातीय संग्रालय निर्माण, धार्मिक मठ मन्दिर निर्माण, सुविधा सम्पन्न खेल मैदान निर्माण, सुविधा सम्पन्न सभाहल तथा प्रशासनिक भवन निर्माणका साथै यस सामुदायिक बनलाई अतिक्रमण तथा चोरी तस्करी हुन नदिनको लागि तारबार गर्ने, झाडी सफाइ, पुनरुत्पादन कटान गर्ने र ट्रेन्च खन्ने तथा अग्नि रेखा निर्माण गर्ने, थिनिङ्ग गर्ने कामलाई समेत निरन्तररूपमा अगाडि बढाइएको उनले बताएकी छन् ।


जनप्रतिनिधि, विभिन्न सामुदायिक तथा साझेदारी वनका अध्यक्ष तथा प्रतिनिधि, वनका पदाधिकारी, उपभोक्ता, विभिन्न संघ संस्थाका पदाधिकारी, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष कुल बहादुर सोमैको स्वागत तथा सचिव दिनानाथ पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्