भाडामा खेती गर्ने कृषकलाई रुरुक्षेत्र गाउँपालिकाको अनुदान


पालिका पत्र

५ मंसिर २०८०, मंगलवार २२:०९ मा प्रकाशित

गुल्मी, मंसिर ०५ । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०(०८१ को स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले कृषकलाई अनुदान दिने भएको हो ।

गाउँपालिकाको “जग्गा भाडामा लिएर खेती गर्न खोज्ने किसानलाई भाडामा अनुदान“ कार्यक्रम रहेको हुँदा जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई भाडामा अनुदान उपलब्ध गराइने भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।

अनुदान लिन चाहने कृषकहरुले भाडामा अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८० को परिच्छेद – २ को दफा ५ बमोजिम व्यक्तिगत निवेदन, जग्गा धनी दर्ता प्रमाण पुर्जा, नागरिकको प्रतिलिपि तथा भाडा सम्झौताको प्रतिलिपि, फर्म दर्ता र कर चुक्ता प्रमाणपत्र सहित पालिकामा आवेदन दिन सकिने उनले बताए ।

जग्गा भाडामा लिइ खेती गरेका किसानले कृषि फर्म दर्ता गरी व्यावसायिक रुपमा १५ रोपनीभन्दा माथी लिएको हुनुपर्ने, भाडामा लिएको जग्गाको ८० प्रतिशतमा खेती गरेको हुनुपर्ने, एकवर्षे वा सोभन्दा कम अवधिको बाली लगाउने भए कम्तीमा पाँच वर्षको र बहुवर्षीय खेतीका लागि कम्तीमा १५ वर्षको सम्झौता भएको हुनुपर्नेछ ।

गाउँपालिकामा रहेका बाँझो जग्गाको उपयोग गरी कृषिमा आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्