किशोरी अधिकार मञ्च कपिलवस्तुको अध्यक्षमा मुराउ निर्वाचित


२६ मंसिर २०८०, मंगलवार २१:३७ मा प्रकाशित

मंसिर २६ गते । किशोरी अधिकार मञ्च कपिलवस्तुको चौथो साधारणसभा एवं दोस्रो अधिवेशन सम्पन्न तौलिहवामा सम्पन्न भएको छ । गाउँपालिका तथा नगरपालिकामा रहेको किशोरी अधिकार मञ्चले जिल्लाको निम्ति सुमित्रा मुराउको अध्यक्षतामा समिती पनि चयन गरेको हो ।

मंगलबार सम्पन्न अधिवेशनबाट जिल्ला स्तरीय किशोरी अधिकार मञ्चको अध्यक्षमा यशोधरा गाउँपालिकाबाट सुमित्रा मुराउ, उपाध्यक्षमा कपिलवस्तु नगरपालिकाका साधिका रैदास, सचिवमा शिवराज नगरपालिकाका गुन्जा थारु, सहसचिवमा महाराजगञ्ज नगरपालिकाका मायावती कोरी, कोषाध्यक्षमा शुद्धोधन गाउँपालिकाका शेषमती मल्लाह र सदस्यहरुमा बिजयनगर गाउँपालिकाका अन्सु बिश्वकर्मा, कपिलवस्तु नगरपालिकाका सादिया खातुन, कृष्णनगर नगरपालिकाका रुपा कहाँर र मायादेवी गाउँपालिकाका नन्दरी कहाँर रहेका छन् ।

यसैगरि कार्यसमितीको आमन्त्रीत सदस्यहरुमा कपिलवस्तु नगरपालिकाका अन्जु चौहान, बुद्धभूमि नगरपालिकाका सल्मा हुसेन रहेका छन् । जिल्ला स्तरीय किशोरी अधिकार मञ्चकी नवनिर्वाचित अध्यक्ष सुमित्रा मुराउले किशोरीहरुको हक अधिकारको लागि काम गर्ने र किशोरीहरुलाई अगाडि बढाउनको लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाइन् । हाल मञ्चमा जिल्लाको बाणगंगा नगरपालिका बाहेकका ९ ओटा स्थानिय तहका १५ सयजना किशोरीहरु आवद्ध रहेका छन् ।

मञ्चले गठन भएदेखि बालविवाह रोक्ने, लैगिंक हिंसा न्यूनीकरणका लागि सफल भएको प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो । न्यायपुर्ण र बिभेद रहित समाज’ भन्ने मूलनाराका साथ सम्पन्न कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती प्रमुख बाबुराम आचार्यले किशोरीहरुका लागि आफ्नो व्यक्तीगत तर्फबाट र समन्वय समितीको तर्फबाट पूर्ण साथ सहयोग हुने प्रतिबद्धता जनाए । पितृसत्तात्मक सोंचले जगडिएको समाजमा छोरा बराबर छोरीको पनि उत्तिकै हक अधिकार भएको हुँदा किशोरीहरुले आफ्नो हक अधिकारका लागि आत्मनिर्भरता बढाउनु पर्नेमा जोड उनले दिए ।

यस्तै स्थानिय सरकारले बालबालिका, किशोरी, महिलाहरु र जेष्ठ नागरिकहरुका लागि सामाजिक समावेसी निती बनाएर कार्यहरु गर्नुपर्ने बताउँदै समाजमा हुने बालबिवाह, दाईजो प्रथा, बहुबिवाह, आत्महत्या लगाएत बिभिन्न हिंसाहरु बढ्दै गएको हुँदा यस बिषयमा राज्य, नागरिक समाज, बिभिन्न संघसंस्था, मानव अधिकारकर्मी, पत्रकार लगाएतले पहल कदमी गर्न आवश्यक रहेकोे आचार्यले जोड दिए । किशोरीहरुलाई सुरक्षित तथा आत्मनिर्भर बनाउनका लागि जिवन उपयोगि सिपलाई अगाडी बढाई क्षमतावान बनाउन आवश्यक रहेको उनको भनाई छ ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले अधिकार कसैले उपहारको रुपमा नदिने भएको हुँदा किशोरीहरुले शिक्षालाई अगाडी बढाउनुपर्ने बताए । उनले बिद्यालय छाड्ने किशोरीहरुका लागि र बालविवाह न्यूनिकरण गर्नका लागि शुद्धोधन गाउँपालिकाले कक्षा ९ देखि कक्षा १२ सम्मका किशोरीहरुलाई साईकल बितरण जस्ता कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा बुद्धभूमि नगरपालिकाका उपप्रमुख मीरा थारु, शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश कुर्मी, बिजयनगर गाउँपालिकाका उपप्रमुख लक्ष्मी कुमारी चौधरी, यशोधरा गाउँपालिका वडाध्यक्ष अब्दुल कयुम खान, कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठ लगायतले बिभिन्न प्रकारका हिंसात्मक घटनाहरु बढ्दै गएको हुँदा यस बिषयमा स्थानिय सरकारले किशोरीहरुका लागि सचेतना मूलक कार्यक्रमहरु संचालन गर्दै आएको जोड दिए । यसलाई न्यूनिकरण गर्न सबै सरोकारवालाले समेत प्याकेज कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता जनाए ।

किशोरी अधिकार मञ्चका अध्यक्ष अक्षिता शुक्लाको अध्यक्षतामा मञ्चका उपाध्यक्ष सुमित्रा मौर्यको स्वागत तथा गुन्जा थारुको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा ओरक नेपालका सुस्मा आचार्य, इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य, महिला मानवअधिकार रक्षक सञ्जालका पुष्पा रेग्मी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, गैसस महासंघका सदस्य दिलिप यादव, रुपन्देही किशोरी अधिकार मञ्चका अध्यक्ष सुनिता हरिजन लगायतले किशोरीका सवालमा आआफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्