स्थानीय सरकारले सामुदायिक अस्पताल सँग साझेदारी गर्नु पर्छः गगन थापा


पालिका पत्र

१७ मंसिर २०८०, आईतवार २२:०८ मा प्रकाशित


मंसिर १७ । स्थानीय सरकारले सामुदायिक अस्पताल सँग साझेदारी गरेर अगाडि बढ्नुपर्ने पूर्व स्वास्थ्य मन्त्री गगन थापाले बताएका छन् । उनले आइतबार कपिलवस्तु सामुदायिक अस्पतालको अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । स्थानीय सरकारले आफ्नो दायरामा सेवा उपलब्ध गराउने गरी लगानी गरेर सामुदायिक अस्पताललाई सरकारी अस्पताल जस्तै बलियो बनाउनु पर्ने बताए ।

सांसद थापाले कपिलवस्तु सामुदायिक अस्पताललाई समुदाय स्तरमा पुगेर सेवा दिन सुझाव दिएका छन् । 

थापाले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको लागि नेपालको बजेटले नपुगिरहेको अवस्थामा व्यक्तिहरूको लगानीलाई परिचालित गर्ने क्रममा समुदायको उचित सहभागिता गराउनमा आफूहरू चुकेको बताए । 

उनले सरकारले चलाएका स्वास्थ्यले मात्र नागरिकहरूको उपचार गर्न नपुग्ने भन्दै यस्ता सामुदायिक स्वास्थ्य संस्थाको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे। सरकारले सामुदायिक स्वास्थ्य संस्था र अन्य संस्थाको लागि पुँजीगत खर्च दिए पनि चालु खर्च नदिदा समस्या भैरहेको महसुस भएको जनाए ।

 थापाले अस्पतालले बिरामी आउछन र उपचार गरौँला भन्ने सोचाइ त्यागेर नागरिकको स्वास्थ्य बिग्रन नदिन गाउँ टोल भित्र पुग्नुपर्ने जिकिर गरे । बिरामी भएर उपचार गर्नुभन्दा नागरिकलाई बिरामी हुन नै नदिन प्रयास गर्नुपर्नेमा उनले जोड दिए । 

त्यस्तै उनले कपिलवस्तु सामुदायिक अस्पतालको सेवा वृद्धि र व्यवस्थापनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्