जियोकृषि ई-चौतारी मार्फत डिजिटल सेवामा जोडिए बाणगङ्गा नगरका कृषक 


१८ जेष्ठ २०८१, शुक्रबार २०:३६ मा प्रकाशित



बाणगंगा, जेठ १८ । 
पछिल्लो पटक आधुनिक खेतीको विकास हुँदै जाँदा किसानहरूमा पनि खेतिपातीको प्रविधिका विषयमा जानकारी लिन थालेका छन् । परम्परागत रुपमा खेती गर्दै आएका किसानका लागि आधुनिक प्रविधि भित्रिएसँगै बोट बिरुवामा आउने समस्या र समाधानको विषयमा पनि जानकारी लिने बानीको विकास बढ्दै जाँदा किसानको मनोबल पनि बढ्दै गएको छ । 


कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका किसानले पछिल्लो पटक डिजिटल कृषि तथा पशु परामर्श सेवा लिन थालेपछि किसानहरूलाई सो सेवाको लागी कार्यालय सम्म जानुपर्ने बाध्यता हटेको छ । कृषकले सही समयमा सही सूचना, समयसापेक्ष जानकारी साथै विश्वसनिय र सजिलै प्रयोगमा ल्याउन सकिने जियो कृषि परामर्श सेवा लिइरहेका छन । जस अन्तर्गत  बाणगङ्गा वडा न. ३ मा शुक्रवार एक कार्यक्रम गरिएको छ । कार्यक्रममा अनलाइनको माध्यमबाट कृषकका समस्या तथा कृषि परामर्श लिएका छन् । बाणगङ्गाका कृषकले लिची र आँपमा लाग्ने रोग कीरा र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जानकारी लिएका थिए । अनलाई माध्यमबाट कृषकहरूका समस्याको सहजिकरण पूर्व बरिष्ठ बाली रोग संरक्षण बालि अधिकृत थमन बहादुर कार्कीले गरेका थिए । 


कार्यक्रममा बाणगङ्गा नगरपालिकाका कृषि शाखा प्रमुख लेस बहादुर केसीले कृषकलाई सल्लाह परार्मश लिनका लागि जियो कृषि परामर्श अनलाइन सेवा महत्वपूर्ण रहेको बताए ।   त्यस्तै नगर पशु शाखा प्रमुख राजकुमार तिवारीले जियो कृषिले कृषकलाई डिजिटल कृषि तथा पशु परामर्श सेवा केन्द्र मार्फत कृषकहरूलाई प्रविधिसँग जोडने काम गरिरहेको बताए ।


कार्यक्रममा जियो कृषिका कार्यक्रम निर्देशक विनोद बिकले असल कृषि अभ्यास, मलखादको उचित प्रयोग, मौसम जानकारी, बाली तथा पशु स्वास्थ्य जाच, बजार मूल्य, स्थान अनुरूप स्मार्ट जानकारी गराइरहेको बताए । उनले अनलाइन तथा एसएमएस परामर्श सेवाहरू, कृषक दर्ता, जलवायु मैत्री कृषि सम्बन्धी जानकारी साथै कृषकहरूका लागी इ चौतारी स्थापना गरी जियो कृषिले धेरै भन्दा धेरै कृषकलाई सही समयमा सही सूचनाको प्रवाह गर्ने लक्ष्य राखेको बताए ।


कार्यक्रममा बाणगङ्गा नगरपालिका वडा न. ३ को सृजनशील आइ.पि.एम पाठशालाका कृषक समुहले अनलाइन जानकारी लिएका थिए । कार्यक्रममा पाठशालाका अध्यक्ष इन्द्रलाल डुम्रेको अध्यक्षता तथा बाणगङ्गा नगरपालिकाका सहजकर्ता ज्योति सुनारको सञ्चालन रहेको थियो । अनलाइन सेवा लिनका लागि २८ जना कृषकहरू उपस्थित रहेका थिए । 
कृषकहरूले एप मार्फत पठाएका समस्या विज्ञहरूले केही समयमै जवाफ पठाउने भएका कारण यस प्रति कृषकको प्रयोग बढ्दै गएको छ । जियोकृषिले बाली तथा पशु स्वास्थ्य जाँच समेत गर्दै आएको छ साथै इ अनलाइनमार्फत विज्ञसंगको अन्तरवार्तासमेत इ चौतारीमार्फत कृषकहरूका बीचमा पुर्याउने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्