
गुल्मीको मालिका गाउँपालिकाका एक कर्मचारीले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल दुई हप्तादेखि सडकमै बेवारिसे अवस्थामा रहेको छ । लु १ ब ८७७ नम्बरको उक्त मोटरसाइकल वडानम्बर–१ नेटा वडा कार्यालयका सहायक सुनिल थापाले प्रयोग गर्दै आएका थिए। माघ २४ गते मोटरसाइकल बिग्रिएपछि उनले सडकमै छोडेका हुन् ।
थापाका अनुसार मोटरसाइकल बिग्रिएपछि उनले मर्मतका लागि मिस्त्रीलाई सम्पर्क गरेका थिए। तर, मिस्त्री शनिबारबाहेक अन्य दिन नभ्याउने बताएपछि सवारी साधन त्यहीँ छोडेर आफू विशेष कामका लागि काठमाडौं गएका थिए। उनले यसबारे कार्यालयलाई जानकारी गराएको दाबी गरे ।
तर, स्थानीयले भने सरकारी सम्पत्तिको यस्तो लापरवाहीपूर्ण प्रयोगप्रति आक्रोश व्यक्त गरेका छन् । उनीहरूका अनुसार यसअघि पनि मालिका गाउँपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको घटनाहरू सार्वजनिक भएका थिए ।
गत कात्तिक २० गते मालिका गाउँपालिकाकै लु १ झ ७८६ नम्बरको डबल क्याप जीप गाउँपालिकाको केन्द्र नजिकै सडकमा फसेको अवस्थामा छोडिएको थियो। स्थानीयका अनुसार उक्त सवारी गाउँपालिकाकै जनप्रतिनिधिले चलाएका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर क्षेत्रीले सरकारी सम्पत्तिको दुरुपयोगबारे गम्भीर छानबिन गरिने बताएका छन् । उनका अनुसार बिग्रिएको मोटरसाइकल तुरुन्तै पालिकामा ल्याउन निर्देशन दिइएको छ । साथै, यदि सरकारी सवारी साधन गैरजिम्मेवार रूपमा प्रयोग गरेको प्रमाणित भएमा सम्बन्धित कर्मचारीको तलबबाटै मर्मत खर्च कटौती गरिने चेतावनी दिएका छन् ।