कञ्चनमा व्यवसायिक अचार, गुन्द्रुक तथा मसौरा उत्पादन तालिम, आत्मनिर्भर बन्ने आधार तयार  


पालिका पत्र

२४ फाल्गुन २०८१, शनिबार ११:०१ मा प्रकाशित

कञ्चन, रूपन्देही । कञ्चन गाउँपालिकाको आर्थिक सहयोग तथा उत्पीडित नागरिक उत्थान केन्द्र को आयोजनामा व्यवसायिक अचार, गुन्द्रुक तथा मसौरा बनाउने तालिम सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालन भएको उक्त तालिम फागुन १७ गते सुरु भई बुधवार समापन गरिएको हो ।

तालिमको समापन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष नवराज ढकालले शहीद, घाइते, अपाङ्ग परिवारका सदस्यहरूलाई आत्मनिर्भर बनाउन र आम्दानीको अवसर सिर्जना गर्न यस्ता तालिमहरू महत्वपूर्ण हुने बताए। उनले सहभागीहरूलाई सिकेको सीपलाई व्यवसायिक रूपमा उपयोग गर्न आग्रह गर्दै गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष मौसमी थापाले तालिमका सहभागीहरूसँग संवाद गर्दै शहीद, घाइते, अपाङ्ग परिवारलाई आर्थिक रूपमा सशक्त बनाउन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताइन् । उनले स्थानीय उत्पादनलाई व्यावसायिक रूप दिनका लागि गाउँपालिकाले आवश्यक नीति तथा सहयोग उपलब्ध गराउने आश्वासन दिइन् ।

तालिममा सहभागी स्थानीय समुदायका सदस्यहरूले अचार, गुन्द्रुक, मसौरा लगायत परम्परागत नेपाली परिकारहरूलाई व्यवसायिक रूपमा उत्पादन गर्ने तरिका सिकेका छन् । उनीहरूले उत्पादित वस्तुहरूको गुणस्तर कायम गर्ने तथा बजार व्यवस्थापन गर्ने तरिका पनि सिकेको बताएका छन् ।

तालिमका प्रशिक्षकहरूले खाद्य स्वच्छता, पोषण, उत्पादन प्रविधि, प्याकेजिङ र बजार प्रवर्द्धन जस्ता विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । विशेष गरी अचार, लप्सीको अचार, सिमी गुन्द्रुक, र मसौरा उत्पादन जस्ता परम्परागत विधिहरूलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै व्यवसायिक उत्पादनतर्फ केन्द्रित गराउने विषयमा तालिम केन्द्रित रहेको प्रशिक्षकहरूले जनाएका छन् ।

तालिममा स्थानीय महिला तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले तालिमको अनुभव बाँड्दै भने, ”हामीले परम्परागत रूपमा घरमै बनाउँदै आएका परिकारहरूलाई व्यवस्थित र व्यवसायिक रूपमा उत्पादन गर्ने सीप सिक्यौ । अब हामी स्थानीय बजार मात्र होइन, बाहिरी बजारमा पनि बिक्री गर्ने योजनामा छौं।”

यस तालिमले स्थानीय उत्पादनलाई व्यवसायिकरण गर्दै आर्थिक रूपमा सशक्त समुदाय निर्माण गर्ने लक्ष्य राखेको आयोजक संस्थाले जनाएको छ ।
कञ्चन गाउँपालिकाले आगामी दिनहरूमा यस्ता व्यावसायिक तालिमहरूलाई विस्तार गर्ने, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र बजार व्यवस्थापनका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

तालिमको आयोजना कञ्चन गाउँपालिकाको सभाहल, वडा नं. ४, रूपन्देहीमा गरिएको थियो। आयोजक संस्थाका अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरू, प्रशिक्षकहरू तथा सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्