बुटवल ११ मा जितबहादुरको प्रतिवद्धता : सुकुम्बासीलाई यथाशीघ्र लालपुर्जा र तिनाउ तटबन्ध,८४ औं जन्मोत्सवमा नगद २५ हजार सहित सम्मान


appharu

१८ बैशाख २०७९, आईतवार १३:०१ मा प्रकाशित

पालिकापत्र,बुटवल ।
सत्तागठबन्धनको तर्फबाट बुटवल उपमहानगरपालिका वडा नं। ११ का जीतबहादुर मल्ल नेतृत्वको उम्मेदवारहरुले अव्यवस्थित, भूमिहिन सुकुम्बासीलाई यथासिघ्र जग्गाधनी पुर्जा व्यवस्था गरिने प्रतिवद्धता गरेका छन् ।

त्यस्तै तिनाउ–दानव नदि कटानले असुरक्षित बनेका बस्तीहरुलाई सुरक्षित बनाउन नदिमा तटबन्धन गरिने उनीहरुको प्रतिवद्धता छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट वडा अध्यक्षमा काँग्रेस नेता जीतबहादुर मल्ल र सदस्यहरुमा विष्णुप्रसाद भण्डारी, हेमा थामी राना, पूर्णबहादुर परियार र सरिता विश्वकर्मा चुनावी मैदानमा हुनुहुन्छ । यो समुह अहिले समुहको प्रतिवद्धता सहित वडाका विभिन्न बस्तीमा मत माग्दै घरदैलोमा छ ।
यो समुहले ल्याएको प्रतिवद्धता पत्रमा, तिनाउ–दानव कोरिडोरमा परेका घरजग्गाबाट विस्थापित हुनेहरुका लागि ग्यारेन्टीका साथ जग्गा उपलब्ध गराई व्यवस्थापन गर्ने, मजुवादेखि खयरघारी आसपासमा पक्कि पुल निर्माण, वडा भित्रका अव्यवस्थित, भूमिहिन तथा सुकुम्बासीहरुका लागि यथासिघ्र जग्गाधनी पुर्जा वितरण, सिरानगाउँ मजुवा बुद्धपार्कमा निर्माणाधिन सभाहल अविलम्ब सम्पन्न गर्ने, वडा भित्रका सामुदायिक विद्यालयहरुमा आवश्यकता अनुसारको शिक्षक दरवन्दी कायम गर्न पहल गर्ने र विद्यालयलाई स्तरोन्नती गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै वडामा कम्तिमा ५० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने र वालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन प्रभावकारी कार्यक्रम सञ्चालन गरिने छ । वडामा रहेको सबै प्रकारका धार्मिक तथा सांस्कृतिक स्थलहरु संरक्षण गरिनेछ । मृत्यु प्रमाणपत्रलाई निःशुल्क गर्ने, वैदेशिक रोजगारीमा जाँदा विचल्लीमा परेर वा सीप आर्जन गरि फर्किएका युवाहरुलाई स्वरोजगारको लागि सहजिकरण गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम पनि मल्लको समुहले प्रतिवद्धता गरेको छ । जेष्ठ नागरिक सम्मानको लागि ८४ औं जन्मोत्सवको अवसरमा नगद २५ हजार रुपैंया सहित दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम यो समुहको छ । त्यस्तै सामाजिक सुरक्षा अन्तरगत प्राप्त हुने बृद्ध भत्ताको रकम घरमै पु¥याईने छ ।

महिलालाई सीपयुक्त तालिम तथा स्वरोजगारको लागि वातावरण तयार गर्ने र उनीहरुले गरेका उत्पादनको लागि बजारको प्रवन्ध मिलाउने, जनघनत्वको आधारमा आवश्यक स्थानमा क्रियापुत्री तथा सामाजिक भवन निर्माण गर्ने, वडाभित्रका सबै सडकलाई कालोपत्रे, कालोपत्रे भएका सडकमा नियमित मर्मतसम्भार, १६÷३६ नहरमा आवश्यकता अनुसार कलवर्ड निर्माण, विद्युतीकरण गर्न बाँकी सबै टोलमा यथासिघ्र विद्युतीकरण, लत्रिएको टेलीफोन तथा ईन्टरनेटका तारलाई भूमिगत गर्ने, खानेपानी नपुगेका वस्तीमा खानेपानीको प्रवन्ध मिलाउने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तैगरी विभिन्न स्थानमा ज्येष्ठ नागरिक तथा वाल उद्यान, योग तथा ध्यान केन्द्र, व्यायाम केन्द्रहरु स्थापना गरिनेछ । फोहोरमैला व्यवस्थापन गरि बायोग्याँस उत्पादन, भएका हाटबजारहरुलाई व्यवस्थित गर्ने, स्वास्थ्य चौकीलाई व्यबस्थित तथा स्तरबृद्धि, देवीनगर अस्थायी प्रहरी चौकीलाई व्यवस्थित गर्ने, फरक शारीरिक क्षमता भएकाहरुलाई सहज जीवनयापनको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने पनि मल्ल समुहले प्रतिवद्धता व्यक्त गरेको छ । नगरभित्रका सबै क्षेत्रको सहज पहुँच हुनेगरी नगर बस सञ्चालन, सडक किनारमा रुख लगाई हरियाली वडा, विद्युतीय चुलोमा अनुदान, फ्रि–वाईफाई जोन, वडालाई सुरक्षित बनाउन ठाउँठाउँमा सिसिटि जडान, स्वास्थ्य स्वयम् सेविकाको सेवासुविधामा बृद्धि, वडामा विशेष सहुलियत सहित एम्बुलेन्स सेवा लगायतका ठोस कार्यक्रम ल्याईएको वडा अध्यक्षका उम्मेदवार जीतबहादुर मल्लले बताउनु भयो ।

जसपा उम्मेदवारद्वारा जितबहादुर मल्लाई समर्थन
बुटवल उपमहानगरपालिका वडा नंं ११ को अध्यक्ष पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका उम्मेदवारले नेपाली कांग्रेसलाई समर्थन गरेका छन् । जसपा उम्मेदवार शुशी पुलामी मगरले शनिबार विज्ञप्ति निकाल्दै गठबन्धनको मर्मलाई आत्मसाथ गर्दै कांग्रेस वडा अध्यक्ष उम्मेदवार जितबहादुर मल्लाई समर्थन गरेको जानकारी गराएकी छन् । २–२ पटक सम्सद विघटन गरेर संबिधानको धज्जी उडाउने प्रतिगमनकारी र सर्वसत्तावादी ,उत्पीडित जाति,वर्ग र समुदायको बिरोधि एमालेलाई पराजित गर्न र पाँचदलिय गठबन्धनलाई विजयी बनाउन मल्ललाई समर्थन गरेको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आयोगको उम्मेद्बारी फिर्ता लिने समयभित्र प्राविधिक रुपमा मेरो उम्मेद्बारी फिर्ता नभएपपनि आफ्ना समर्थक शुभचिन्तकलाई पाँचदलिय गठबन्धन भित्रको मित्र पार्टी नेपाली कांग्रेसका वडा नम्बर ११ का वडा अध्यक्ष पदका उम्मेद्बार जित बहादुर मल्ललाई र सदस्य पदमा जसपाकै उम्मेदवारलाई मत दिन अपील गरेकी छन् । जसपा बुटवल उपमहानगरपालिका नगर समितिको शनिबार बसेको बैठकको निर्णय समेत यहि भएको उनले जानकारी गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्