बुटवलमा गठबन्धनका उपमेयरद्वारा आफूले पाउने गाडी अशक्त र असहायका लागि प्रयोग गर्ने घोषणा


appharu

१९ बैशाख २०७९, सोमबार १९:१५ मा प्रकाशित

पालिकापत्र, बुटवल ।

गठबन्धनका तर्फबाट बुटवल उपमहानगरको उपमेयरका उम्मेद्वार चिन बहादुर गुरुङले उपमेयरको गाडी अशक्त र असायका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्ने घोषणा गरेका छन ।

जनप्रतिनिधि सेवा सुविधा मुखी भएको भन्दै मतदाताहरुसँगको भेटमा प्रतिक्रिया आएको बताउँदै उपमेयरका उम्मेद्वार गुरुङले आफूले उपमेयरको गाडी व्यक्तिगत रुपमा प्रयोग नगर्ने घोषणा गरेका हुन । गुरुङले उपमेयरका लागि प्रयोग हुने गाडी जेष्ठ नागरिक,गर्भवती महिला, वालबालिका तथा विपन्न समुदायका लागि निशुल्क रुपमा प्रयोग हुने गरि एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याउने प्रतिबद्धता गरेका हुन ।

‘म २०५४ सालदेखि जनप्रतिनिधिका रुपमा बुटवलबासीको सेवामा समर्पित छु, म सुविधाका लागि त्यहाँ पुग्न लागेको होईन’ उनले भने –‘त्यसैले मैलै व्यक्तिगत रुपमा आफ्नै गाडी चढ्नेछु ।’ नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश कमिटिका सदस्य, एंव बुटवल नगरका अध्यक्ष समेत रहेका गुरुङले बुटवलको विकासमा समर्पण हुने बताए ।

उनले बुटवल उपमहानगरलाई न्याय, समानता र समुन्नतीको शहर बनाउनका लागि नितिगत, कार्यक्रम र बजेटका हिसाबले प्राथमिककतामा राखेर काम गर्ने बताए । उनले अझै पनि समाजमा लैंगिक हिंसा, बालविवाह, जातीय छुवाछुत जस्ता कानुनले बन्देज गरेका व्यवहार कायमै रहेकाले त्यसको अन्त्यका लागि समेत छुट्टै संयन्त्र बनाउने बताए । उनले बुटवललाई क्लिन सिटिको रुपमा विकास गर्ने बताए ।

बुटवल उपमहानगरमा गठबन्धनका तर्फबाट काँग्रेसका खेलराज पाण्डे र उपप्रमुखमा एकिकृत समाजवादीका गुरुङको उम्मेद्वारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्