प्रचार मैदानमा वडा अध्यक्षका प्रतिद्वन्दीसंग चन्द्रकान्तले गरे अंकमाल


appharu

२१ बैशाख २०७९, बुधबार ०८:५९ मा प्रकाशित

पालिकापत्र, वाणगंगा ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका चन्द्रकान्त न्यौपानेले आफ्नो आदर्श ब्यक्तित्व प्रर्दशन गर्नुभएको छ ।

चुनावी प्रचारको दौरानमा मंगलबार दरखास्त टोलमा जम्काभेट भएका मुख्य प्रतिद्वन्दी एमालेका वडा अध्यक्षका उम्मेदवार छविलाल रेश्मीसंग अंकमाल गरेर न्यौपानेले आफ्नो आदर्श व्यक्तित्व प्रदर्शन गर्नुभएको हो ।

एउटै गाउँ झुँगाबाट एकै पदमा भीँड्नु पर्ने बाध्यता भएको भन्दै यो प्रतिस्पर्धा चुनावसम्म मात्र भएको न्यौपानेले मायादेवीसंग बताउनु भयो । उहाँले भन्नुभयो ‘उहाँ मेरो अग्रज दाजु हो । सम्मानित दाजु हो । चुनाव भनेको एकै घरका बुबा आमा, दाजुभाइ फरक बादमा रहेर लड्ने लोकतन्त्रको सुन्दर पद्धती हो । यसै कारण हामी दुइभाइ अहिले प्रतिस्पर्धामा छौँ । यो सारा प्रतिस्पर्धा चुनावपछि सकिन्छ । जसले जिते पनि वडाले जित्ने छ ।’ भेटका क्रममा रेश्मीले पनि सफलताको कामनासहित हार्दिकताका साथ बधाई, शुभकामना दिएको र आफूले पनि उहाँलाई बधाई र शुभकामना दिएको न्यौपानेले बताउनु भयो ।

न्यौपानेले कुनै पनि उम्मेदवारबिच स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने बताउनु भयो । बिभिन्न ठाउँमा एक अर्काले प्रतिशोध साँध्ने गरी चुनावमा शत्रुता प्रस्तुत गर्ने गरेको भन्दै यस्तो संस्कृतिको अन्त्य होओस् भन्ने सन्देश दिन पनि उम्मेदवारमा यस्तो आदर्शता र आत्मियता हुनुपर्ने उहाँको भनाइ छ ।

गठबन्धनबाट न्यौपाने कलम चुनाव चिन्हमा लड्नु भएको छ । उहाँको अहिले घरदैले र प्रचारप्रसार तीव्र छ । ७४ सालमा चुनेका दलले जनमुखी काम नगरेको भन्दै जनताले पार्टी बदल्ने सोँच राखेका बताउँदै यसपटक वडामा आफूले जित्ने उहाँले दावी गर्नुभयो । वडाको महिला वडा सदस्यमा विमला श्रेष्ठ, नुर बहादुर राना र रामचन्द्र खनाल चुनावी मैदानमा हुनुहुन्छ । गठबन्धनबाट नगर प्रमुखमा माओवादी केन्द्रका देवराज अर्याल र उपमेयरमा नेकपा एसबाट कमल भट्टराई उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्