मावि तहमा बढाइएको मासिक र भर्ना शूल्क समायोजन गर्न बाणगंगा तयार


appharu

८ भाद्र २०७९, बुधबार ०८:४२ मा प्रकाशित

पालिकापत्र, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका र जिल्लाका ६ विद्यार्थी संगठन बीच वार्ता भएको छ । मंगलबार नगरपालिकामा बसेको ५ घण्टाको लामो वार्ता पश्चात मावि तहमा बढाइएको मासिक र भर्ना शूल्क समायोजनका लागि एक कार्यदल गठन गरिएको छ ।

कार्यदलको संयोजकमा नगर प्रवक्ता समेत रहेका वडा नं. २ का वडाध्यक्ष विष्णु पौडेल रहेका छन् ।

यस्तै सदस्यहरुमा जनता मावि पिपराका प्रध्यानाध्यापक रमेश पन्थी, बाणगंगा मावि लौगाईका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुमनाथ पौडेल, बाणगंगा मावि गजेहडाका प्रध्यानाध्यापक रामप्रसाद भण्डारी, अनेरास्ववियुका दयाराम पौडेल, नेविसंघका माधव पौडेल, अनेरास्ववियू (क्रान्तिकारी) का हरिशचन्द्र खनाल, अनेरास्ववियूका कमल बेल्वासे, अखिल (क्रान्तिकारी) का सपना खनाल, अखिल (क्रान्तिकारी) का लक्ष्मी खनाल रहेका छन् भने सदस्य सचिवमा नगरका शिक्षा शाखा प्रमुख खिमबहादुर जिसी रहेका छन् ।

यो कार्यदलले नगर भित्र रहेका सम्पूर्ण मावि तहको वस्तुस्थिति बुझेर शूल्क वृद्धि गर्नुपर्ने, नपर्ने कारण सहितको प्रतिवेदन नगर प्रमुख चक्रपाणी अर्याललाई बुझाउने अख्तियारी पाएको छ ।

सोही प्रतिवेदनको आधारमा शूल्क समायोजन गर्ने नगरपालिकाले जनाएको छ ।

हालै मात्र नगरका मावि विद्यालयहरुले कक्षा ११ र कक्षा १२ को मासिक शूल्कमा ३ सयले वृद्धि गराएका छन् भने भर्ना शूल्कमा १५ सय रुपैयाँ बढाएका छन् ।

मावि तहको शिक्षा निशूल्क हुने संविधानमा लेखिए अनुसार बाणगंगामा पनि कार्यान्वयन हुनुपर्ने विद्यार्थी संगठनहरुले बताएका छन् भने माध्यमिक विद्यालयहरुले शूल्क वृद्धि अनिवार्य भएको जिकिर गर्दै आएका छन् ।

विद्यार्थी संगठन र माविका प्रध्यानाध्यापक बीच बसेको वार्ता पश्चात विद्यार्थी संगठनहरुले नगरपालिकालाई यस विषयमा गम्भीर हुन माग गर्दै भाद्र ५ गते चार दिने अल्टिमेटम दिदैं ज्ञापनपत्र बुझाएका थिए ।

उक्त ज्ञापनपत्र पश्चात मंगलबार नगरपालिकाले विद्यार्थी संगठनहरुका प्रतिनिधि, प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिति लगायतलाई वार्ताका लागि बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्