बाणगङ्गाका सामुदायिक विद्यालयलाई श्रृङ्गिघाट सामुदायिक वनको १० लाख 


पालिका पत्र

१६ जेष्ठ २०८१, बुधबार १९:१४ मा प्रकाशित

कपिलवस्तु, जेठ १६ ।

बाणगङ्गा नगरपालिका अन्तर्रगत ४ वटा वडा समावेश रहेको श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समुहले आफ्नो क्षेत्राधिकारमा भएका सामुदायिक विद्यालयमा १० लाख रुपैयाँको लगानी थालेको छ । वानले आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उक्त लगानी थालेको हो । जस अन्तर्रगत विभिन्न सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । वनले आफ्नो क्षेत्र भित्रपर्ने सात वटा सामुदायिक विद्यालयलाई  शैक्षिक सामग्री वितरण सुरु गरेको हो । वनले बुधवार बाणगङ्गा वडा न. ३ को सरस्वती आधारभुत विद्यालय र वडा न. ५ को मद्यौलिया बाल विकास केन्द्रका बालबालिका लाई शैक्षिक सामग्री प्रदान गरेको हो ।  

वनले गरिबी तथा जेहनदार विद्यार्थीहरूलाई लक्षित गरेर शैक्षिक सामाग्री वितरण गरेको अध्यक्ष गणेश बहादुर सिह ठकुरीले बताए । उनले वनले आर्थिक वर्ष २०८० / ८१ को वार्षिक कार्यक्रममा विद्यालयहरूलाई टोटल १० लाख बजेट विनियोजन गरेको जानकारी दिए । त्यस मध्य सातवटा विद्यालयमा वनले ३ लाख बराबरको शैक्षिक सामग्री आफै हस्तान्तरण गरेको हो । अन्य सात लाख रुपैयाँ विद्यालयलाई  विद्यालय व्यवस्थापनमा खर्च गर्न भनी नगद प्रदान गरिने अध्यक्ष ठकुरीले बताए । 

कार्यक्रममा बाणगङ्गा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुनिका भुसालले सामुदायिक वनले अभियानकै रुपमा विकास निर्माणका कार्य सँगै स्वास्थ्य र शिक्षामा चालेका कदमहरूको समाजले पनि उचित मूल्यांकन गरेको बताए । यश क्षेत्रमा कयौं सामुदायिक वनहरु भएपनि श्रृङ्गिघाट वनले ल्याएका यस्ता अनुकरणीय योजनाहरू अन्य वनहरुले पनि सिको गर्न आवश्यक रहेको बताए ।

त्यस्तै समाजसेवी तथा नेता झविलाल पोख्रेलले वनले उच्च शिक्षामा पनि लगानी गर्नुपर्ने सुझाव दिए । ”बाणगङ्गाका वनहरु आर्थिक घोटालामा मुछिएको भन्ने सुनिएको छैन, सुन्न नपरोस्” ‘नेता पोख्रेलले भने ।’ यद्यपि  श्रीङ्गिघाट सामुदायिक वनले गरेको यो कार्य निक्कै अनुकरणीय रहेको बताउँदै  वनका अन्य स्वास्थ्य बिमाका कार्यक्रमहरूको समेत प्रशंसा गरे ।

यता सरस्वती आधारभुत विद्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ३ का वडा सदस्य चन्द्रावती थारूले सामुदायिक विद्यालयमा शिक्षाको  गुणस्तर सुधार गर्ने उद्देश्यले गरिएको कार्यक्रम निक्कै उदाहरणीय रहेको बताइन । उनले वनले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि वनले यस्ता कार्यलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गरिन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ठाँटी मौजा संयोजक विक्रम थारू, वनका लेखा समिति संयोजक, कृष्ण प्रसाद पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष सन्दिप चौधरी, समाजसेवी सन्तराम थारू, प्रअ. अ कमला पोख्रेल लगायतले बोल्दै शिक्षा क्षेत्रमा गरेको यस्तो कामले बालबालिकाको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने बताए ।

श्रृङ्गिघाट सामुदायिक वनमा बाणगङ्गा नगरका १, ३, ४, र ५ वडाहरू पर्दछन् । शैक्षिक सामाग्री अन्तर्गत झोला, कापी, ज्यामिति बाकस, पेन्सिल लगायत विभिन्न सामाग्री वितरण गरेको हो ।

गणेश बहादुर सिह ठकुरीको अध्यक्षता, उपाध्यक्ष बुद्ध बहादुर शाहीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सुस्मा खाणले गरेकी थिइन । कार्यक्रममा संस्थाका पदाधिकारी सल्लाहकार विभिन्न संघ संस्थामा आवद्ध ,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । वनले यो भन्दा अगाडि वनको १४ मौजामा अति विपन्न परिवारलाई स्वास्थ्य बिमामा समावेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्