शिविर सँगै वडा अध्यक्ष गाँउमै, वडा धाउन नपरेपछि स्थानीयहरु खुशी


पालिका पत्र

१९ श्रावण २०८१, शनिबार १२:३९ मा प्रकाशित

माधव बेल्वासे, साउन १९ । कपिलवस्तुको शिवराज नगरपालिका ३ नम्बर वडाले सामाजिक सुरक्षा भत्ता नवीकरण, एकीकृत सम्पत्ति कर संकलन, र राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउन शिविर सञ्चालन गरेको छ । वडाको विकट गाउँ मैनार र बुलकिया लगायतका विभिन्न बस्तीमा शिविर मार्फत प्रदान गरेपछि स्थानीयवासीहरू खुशी भएका छन् । शुक्रवार मैनार बुलकियामा आयोजित शिविरबाट ६५ जनाले सेवा लिएको छन् । यस शिविरको आयोजनाले स्थानीय नागरिकलाई विभिन्न सरकारी सेवाहरुमा सहज पहुँच सुनिश्चित गर्दै उनीहरुको समय र पैसाको बचत गरेको छ ।


शिविरको उद्‌घाटन गर्दै वडा अध्यक्ष टेकलाल सापकोटाले गाउँघरमै सेवा प्रदान गर्ने यो पहलले नागरिकहरुलाई आवश्यक सेवाहरु सहजै उपलब्ध गराउने बताए । “हामीले नागरिकलाई सेवा लिन लामो यात्रा गर्नुपर्ने बाध्यता हटाउनका लागि यो शिविर आयोजना गरेका हौं, “सापकोटाले भने, “यसले नागरिकहरुको समयको बचत मात्र होइन, आर्थिक भार पनि कम गरेको छ ।“


शिविरमा नागरिकहरूले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न सकेका थिए । साथै, एकीकृत सम्पत्ति कर संकलनले नगरपालिकालाई कर संकलन प्रक्रिया सहज बनाएको छ । राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराइएकोले नागरिकहरूलाई प्रमाणपत्रसम्बन्धी समस्या समाधान गर्न सहयोग पुर्याएको छ ।


स्थानीयवासीहरुले शिविरको व्यवस्थापन र सेवा प्रवाहको गुणस्तरप्रति सन्तोष व्यक्त गरेका छन् । मैनार गाउँका एक स्थानीय बासिन्दा हेलिया थारुनी भनिन्, “यसरी गाउँमै सेवा पाउँदा हामीलाई ठूलो राहत भएको छ । लामो दूरीको यात्रा नगरी आवश्यक कागजातहरू पूरा गर्न पाउँदा खुशी लागेको छ”। शिविरले विशेष गरी वृद्धवृद्धा, शारीरिक असक्तता भएका व्यक्ति, र दैनिक कामकाजका लागि अन्यत्र जान कठिनाइ भोग्ने व्यक्तिहरूलाई ठूलो राहत दिएको छ । सेवा प्राप्त गर्नका लागि लामो प्रतिक्षा गर्न नपर्ने हुँदा सेवाग्राहीहरुको उत्साहजनक सहभागिता रहेको थियो । वडा अध्यक्ष सापकोटाले आगामी दिनमा पनि यस्ता सेवाहरु निरन्तरता दिन आफूहरु प्रतिबद्ध रहेको बताए । अन्य वडाहरुमा पनि यस्तै सेवा विस्तारको योजना रहेको र यसले समग्र नगरपालिका क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले विश्वास व्यक्त गरे ।

शिविरको सफलताले स्थानीय समुदायमा सरकारी सेवाप्रति विश्वास बढाएको र नागरिकहरूमा सरकारप्रतिको सकारात्मक धारणा सिर्जना गरेको छ । यस प्रकारका सेवाहरुले विकासको गति तिब्र बनाउन मद्दत पुर्याउने नगरवासीको अपेक्षा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्