बाणगंगा–६ मा एकीकृत घुम्ती शिविर सम्पन्न, १ हजार ३५ जनाले सेवा पाए


पालिका पत्र

२१ माघ २०८१, सोमबार १९:३८ मा प्रकाशित

बाणगंगा, माघ २१ । बाणगंगा नगरपालिका–६, सुठौलीस्थित ज्ञानोदय आधारभूत विद्यालयमा आयोजित एकीकृत घुम्ती शिविरबाट एक हजारभन्दा बढी सेवाग्राहीले सेवा प्राप्त गरेका छन् । बाणगंगा नगरपालिकाको आयोजना र वडा नं. ६ को समन्वयमा सम्पन्न शिविरबाट १ हजार ३५ जना लाभान्वित भएको नगरप्रमुख चक्रपाणी अर्यालले जानकारी दिए ।

शिविरमा १८२ जनाले पशु सेवा, १६७ जनाले कृषि विकास सेवा, ३३१ जनाले आयुर्वेद सेवा, २५० जनाले स्वास्थ्य सेवा, ५ जनाले फर्म तथा व्यवसाय दर्ता तथा नविकरणसम्बन्धी परामर्श, २४ जनाले ज्येष्ठ नागरिक परिचय पत्र, ७१ जनाले सुरक्षित आप्रवासन (सामी) तथा रोजगार परामर्श, र ५ जनाले योजना सम्झौता परामर्श तथा कागजात संकलन सेवा प्राप्त गरेका थिए ।

नगरप्रमुख अर्यालले सिंहदरबारको अधिकार गाउँ–गाउँमा पु¥याउने लक्ष्यअनुसार शिविर सञ्चालन गरिएको बताए । स्थानीय नागरिकको उत्साहजनक सहभागिताले भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रेरणा मिलेको उनले उल्लेख गरे ।

नगरउपप्रमुख रिता कुमारी चौधरीले सेवा पहुँचबाट टाढा रहेका बस्ती तथा समुदायलाई लक्षित गर्दै एकीकृत घुम्ती सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । ‘विगतदेखि नै हामीले विभिन्न कार्यक्रममार्फत वृद्धवृद्धा तथा असक्त नागरिकलाई गाउँमै सेवा प्रदान गर्दै आएका छौँ । यो अभियानलाई निरन्तरता दिनेछौँ,’ उनले भनिन् ।

स्थानीय सेवाग्राहीहरूले आफ्नै स्थानमा सेवा प्राप्त गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । शिविरमा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीसहितका कर्मचारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्