कपिलवस्तु, ६ मंसिर । कपिलवस्तुको बाणगंगा नगरपालिका–५, मधौलियास्थित ए.भि.एम. एकेडेमीले आफ्नो शैक्षिक उपलब्धि, आर्थिक अवस्था र भावी योजनाबारे सेयर सदस्यहरूबीच समीक्षा गर्दै संस्थाको आगामी यात्राका लागि साझा प्रतिबद्धता जुटाएको छ।
बाणगंगा नगरपालिका–८, कडवाचौरमा सम्पन्न विद्यालयका सेयर सदस्यहरूको विशेष भेलाले शैक्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्दै विद्यालयलाई यस क्षेत्रकै नमुना शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शिवकला बेलबासेको अध्यक्षतामा सम्पन्न भेलामा शिक्षक, कर्मचारीसहित करिब ५० जना सेयर सदस्यको सहभागिता रहेको थियो ।
भेलामा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको नतिजा सुधार, अतिरिक्त क्रियाकलाप, भौतिक पूर्वाधार विकास र आगामी योजनाका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । विद्यालयले हालसम्म हासिल गरेका उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा शिक्षण सिकाइलाई थप प्रभावकारी, गुणस्तरीय र प्रविधिमैत्री बनाउने विषयलाई प्राथमिकता दिइएको थियो ।
कार्यक्रममा प्रिन्सिपल विनोद खनालले विद्यालयको वर्तमान शैक्षिक अवस्था, नतिजा सुधारका प्रयास, अतिरिक्त क्रियाकलाप तथा आगामी शैक्षिक सत्रका रणनीतिक योजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्न विद्यालय परिवार प्रतिबद्ध रहेको बताउँदै शैक्षिक उपलब्धिलाई थप उचाइमा पुर्याउने योजना सुनाउनुभयो ।
त्यस्तै, संस्थापक प्रिन्सिपल खडानन्द गौतमले विद्यालयको आय–व्यय, भौतिक पूर्वाधार विकासमा गरिएको लगानी तथा आगामी आर्थिक वर्षको बजेट र वित्तीय व्यवस्थापनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
प्रस्तुत प्रतिवेदनमाथि सेयर सदस्यहरूले विभिन्न सुझाव र धारणा राख्दै विद्यालयको शैक्षिक तथा संस्थागत विकासका लागि पारदर्शिता, प्रभावकारी व्यवस्थापन र सामूहिक सहकार्य आवश्यक रहेको औँल्याएका थिए । छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका हुन् ।
भेलामा शुभकामना मन्तव्य राख्दै सेयर सदस्य तथा संस्थापक अध्यक्ष नन्दराम पोखरेलले विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याउन सबै सेयर सदस्य, शिक्षक तथा कर्मचारीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले संस्थाको दीर्घकालीन विकासका लागि सबै पक्षबीच सहकार्य र एकता आवश्यक रहेको धारणा राख्नुभयो ।
सामाजिक तथा शैक्षिक व्यक्तित्व झबिलाल पोखरेलले विद्यालयले छोटो समयमै शैक्षिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको उल्लेख गर्दै प्रस्तुत प्रतिवेदनहरूमाथि सकारात्मक टिप्पणी गर्नुभयो । उहाँले विद्यालयको प्रगति र उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो ।
समापन मन्तव्य राख्दै अध्यक्ष शिवकला बेलबासेले सेयर सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावलाई संस्थाको विकासमा उपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले ए.भि.एम. एकेडेमीलाई यस क्षेत्रकै नमुना शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित विद्यालय अघि बढ्ने बताउनुभयो ।
राष्ट्रिय गान तथा ज्ञात–अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण गरी सुरु भएको कार्यक्रमको स्वागत विद्यालयका भाइस प्रिन्सिपल इन्द्रजित थारुले गर्नुभएको थियो । विद्यालय परिवारले सहभागीहरूका लागि खाजा तथा नास्ताको व्यवस्था गरेको थियो ।











प्रतिक्रिया दिनुहोस्